Latest Updates :

केही छिनमै भूतको सहर : रासायनिक ग्याँसको आक्रमणमा परेको सहरको कथा

SHARE THIS POST :

खान सेइखुन भूतको सहर बनेको छ, यहाँका सडकमा मुर्दा शान्ति छाएको छ । मंगलबार रासयनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् । घटनास्थल पुगेका पत्रकार करिम सहिनले दी गाडियनमा लेखेको वर्णनको सम्पादित अंश आजको कान्तिपुरमा छापिएको छ । के भएको थियो भन्ने प्रमाणको रुपमा सहरको उत्तरी भागमा एक सानो खाल्डो छ जहाँ बिषाक्त ग्याससहितको रकेट खसेको थियो जसका कारण ७० भन्दा बढीले ज्यान गुमाए । सिरियामा ६ वर्ष पहिले सुरु भएयताको यो सबैभन्दा ठूलो रसायनिक आक्रमण थियो । मंगलबारको आक्रमणपछि मानिसहरु बस्ने घरहरु खाली छन् र इडलिब प्रान्तको यो शहरमा अहिले रकेटका टुक्राहरु अझै छरपष्ट छन् ।
 सन् २०१३ मा दमास्कस नजिकैको विपक्षीको कब्जामा रहेको स्थानमा सरकारले रसायनिक आक्रमण गरेपछि १ हजार बढीको ज्यान गएको थियो । त्यसयता सरकारले रसायनिक हतियार प्रयोग छाडेको भनिएको थियो । राष्ट्रपति बसर अल असदका मुख्य सहयोगी रुसले सिरियाली सरकारले विद्रोहीहरुले सञ्चालन गरिरहेको ग्यास उत्पादन गर्ने प्लान्टमा बम आक्रमण गरेको र लगत्तै उक्त ग्यास लिक भएर यो अवस्थामा पुगेको बताइरहेको छ । तर, रसायनिक आक्रमणलगत्तै घटनास्थल पुग्दा विद्रोहीले सञ्चालन गरेको भनिएको गोदामनजिकै रसायनिक मिसाइल खसेको देखिन्थ्यो । उक्त गोदामसँगै रहेको टावरमा केही क्षति पुगेको थियो र गोदाम पुरै धुलोले पुरिएको थियो । स्थानीयका अनुसार उक्त टावर पनि ६ महिना अघि भएको बम आक्रमणले नष्ट भएको थियो र त्यसयता प्रयोगमा छैन ।
 विद्रोहीले सञ्चालन गरेको ग्यास उत्पादन उद्योगमा आक्रमण गरेको भन्ने रुसी दाबी स्थानीयले पत्याएका छैनन् । ‘तपाईंले यहाँ हेर्न सक्नुहुन्छ, यो गोदाममा केही खाद्यान्न र मरेका जीवजन्तुका अवशेष बाहेक केही छैन्’, एक स्थानीयले भने । रसायनिक ग्यासले त्यत्रा मानिस मार्दा भर्खरै खसालिएको मिसाइलले अन्य भवन क्षति पुगेको वा भत्किएका छैनन् । सडक वरपर रहेका घरहर बाहिरबाट हेर्दा जस्ताको तस्तै देखिन्छन् । गार्डियनले घटनालगत्तै प्रत्यक्षदर्शी, उद्दारकर्ता, पीडितका आफन्त र घाइतेसँग अन्तर्वार्ता लिएको थियो । अन्तर्वार्ता लिइएकाहरुले विश्वभर विरोध भएको यो घटनाको ताजा विवरण दिएका थिए ।
 ‘त्यो संसारकै अन्तिम दिन हो जस्तो लागेको थियो’, स्थानीय नागरिक रक्षा स्वयमसेवक हमिद खुटैनीले भने । प्रत्यक्षदर्शीका अनुसार हवाई आक्रमण मंगलबार बिहान साढे ६ बजेदेखि सुरु भएको थियो । त्यो चार घण्टासम्म चलेको थियो । सुरुमा उनीहरुले यो पनि पहिले भएजस्तै हवाई आक्रमण सम्झिए । मानिसहरु भुइँमै लड्न थालेपछि उनीहरुले बल्ल रसायनिक आक्रमण हो भन्ने बुझे । खुटैनले भने, ‘स्थानीयले हामीलाई बचाउन आउ भन्दै फोन गरे । उनीहरुले आफूहरु हिड्न पनि नसक्ने बताए ।’ त्यसलगत्तै केही उद्दार टोली घटनास्थल पुग्यो । उनीहरु सामान्य मास्कको भरमा थिए । खुटैनले घटनालगत्तै ५ सय मिटर परसम्म रसायनको गन्ध आएको बताए । प्रत्यक्षदर्शीका अनुसार घाइतेहरु मुखमा फिँज निकालेर भुइँमा छटपटाइरहेका थिए । उनीहरुको ओठ निलो भएको थियो र अर्धचेत अवस्थामा थिए । ‘बालबच्चाहरु भुइँमै लडेको देखें । उनीहरुको ओठ निलो थियो’, आक्रमणलगत्तै उद्दारको लागि पुगेका अबु अल बराले भने ।
 मिसाइलले बनाएको खाल्डो नजिकै उभिएर उनले आफ्नो अनुभव सुनाए,‘मानिसहरु छत, बार्दली, सडक जहाँतही छट्पटाइरहेका थिए । जहाँ हेर्‍यो त्यही लाश थियो ।’ ग्यास आक्रमणपछि छट्पटाइरहेकाहरुलाई नजिकैको नागरिक रक्षा केन्द्र (सिभिल डिफेन्स सेन्टर) लगेर अस्थायी क्लिनिक बनाएर उपचार गरिएको थियो । तर, घाइतेहरुलाई उपचार गरिरहेको बेलामा पनि ८–१० मिसाइल वरपर नै झरे । र, अस्थायी क्लिनिक पनि प्रभावहीन बन्यो । ‘सायद पाइलटलाई सरिन (बिषाक्त ग्यास) बाट मरेको मानिस ४८ घण्टापछि फेरि व्यूझन्छ भन्ने पुरानो कथा थाहा रहेछ, त्यसैले उनीहरु कोही नबाँचुन भन्दै बम खसाल्न आए’, विद्रोही समूह अहरर अल शामका एक अधिकारीले भने ।
 अस्थायी क्लिनिक राखिएको स्थान पुग्दा यो भग्नावशेषले भरिएको थियो । भित्रपट्टी अस्पतालका उपकरण, बेड, शल्यक्रियाका लागि प्रयोग हुने सामग्री र औषधीका साना बट्टाहरु धुलाम्ये भएर छरिएका थिए । नजिकैको चिहानमा अघिल्लो दिन मृतकहरुको अन्त्येष्टी गरिएको थियो । एउटा कुनामा १८ वटा नयाँ चिहान बनाइएको थिया र मृतक २० जनाको नाम एउटा ढुंगामा कुँदिएको थियो । यो चिहानमा एकै परिवारका २० जनाको शव गाडिएको थियो र दुई बच्चाहरुलाई आफ्नै आमासँगै पुरिएको थियो । उक्त परिवारमा बाँच्न सफल थोरैमध्ये एक अब्दुलहमिद अल युसुफले खान सेइखुनस्थित आफ्नो घरमा धेरै जनाबाट समवेदना पाइरहेका छन् । उनले अघिल्लो दिन मात्रै आफ्नी पत्नी र नौं महिने जुम्ल्याहा सन्तान अहमद र आयालाई गाडेका थिए । आक्रमणलगत्तै युसुफ शहरका अन्य पीडितलाई उद्दार गर्नको लागि घरबाट निस्किएका थिए । तर, उनी फर्किदा आफ्नै घरका अधिकांश सदस्यले संसार छाडिसकेका थिए ।
 उनका पत्नी र सन्तान बमबाट बच्न आफ्नो घरको बेसमेन्टमा पुगेका थिए । तर, बमसहित खसेको बिषालु ग्यासले उनीहरु कसैलाई बाँकी राखेन । अघिल्लो दिन साँझ अन्त्येष्टीको लागि उनले आफ्नो जुम्ल्याहा सन्तानलाई आफ्नै हातमा बोकेर लैजाने निधो गरे । जुनबेला उनले आफ्ना दुई सन्तानको नाम बारम्बार उच्चारण गरिरहे, ‘आया र अहमद । मेरो मुटुको टुक्रा ।’ (मंगलबार सिरियाली सहर खान सेइखुनमा रसायन आक्रमणपछि घटनास्थल पुगेका पत्रकार करिम सहिनले दी गाडियनमा लेखेको वर्णनको सम्पादित तथा अनुदिन अंश ।)
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger