काठमाडौं, २० कात्तिक : विश्व फुटबल महासंघ फिफाले सन् २०१६ का लागि वर्ष खेलाडी मनोनयन गरी नाम सार्वजनिक गरेको छ।
फिफाले २३ खेलाडीको नाम सार्वजनिक गरेको हो। फिफाले फ्रान्सेली फुटबल म्यागजिनसँगको सहकार्य टुटेपछि यस वर्षदेखि फेरि फिफा वर्ष खेलाडी अवार्ड दिन लागेको छ।
सार्वजनिक गरिएकामा लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो, नेइमार, सर्जियो अग्युरो, ग्यारेथ बेल, आन्द्रेस इनिएस्टा, सर्जियो रामोस, एलेक्स सान्चेज, लुइस स्वारेज, जेमी भर्डी, एन्टोनी ग्रिजम्यान, टोनी क्रसलगायत २३ जना खेलाडी छन्।
फिफाले सन् १९९१ देखि २००९ सम्म पनि फिफा वर्ष खेलाडी अवार्ड दिँदै आएको थियो। तर त्यसपछि गत वर्षसम्म फ्रेन्च फुटबलसँगको सहकार्यमा फिफा बालोन डी’ओर प्रदान गरिएको थियो।
फिफाले आउँदो जनवरी ९ मा ज्युरिचमा हुने विशेष कार्यक्रममा फिफा वर्ष खेलाडी २०१६ को अवार्ड प्रदान गर्नेछ। त्यसअघि डिसेम्बर २ मा अन्तिम तीनमा पर्ने खेलाडीको नाम सार्वजनिक हुनेछ। अवार्डका लागि दुई किसिमको मतदान प्रक्रिया अपनाइएको छ।
विश्वका राष्ट्रिय टिमका कप्तान तथा मूख्य प्रशिक्षकले दिएको मतलाई ५० प्रतिशत तथा विश्वका झण्डै दुई सय खेल पत्रकार तथा अनलाइनमार्फत समर्थकले दिने मतले ५० प्रतिशत हिस्सा लिने छ।
फिफाले पुरुष वर्ष फुटबल खेलाडीसहित विभिन्न ८ विधामा पुरस्कार प्रदान गर्ने छ। फिफा महिला वर्ष खेलाडी, पुरुष वर्ष प्रशिक्षक, महिला वर्ष प्रशिक्षक, वर्षको उत्कृष्ट गोल अवार्ड, फेयर प्ले अवार्ड, फ्यान अवार्ड र फिफा वर्ष टिम अवार्ड प्रदान गरिने छ।
अवार्डका लागि मत दिन चाहने समर्थकले फिफा डट कममा गएर आफूलाई मन परेको खेलाडीलाई मत दिन सक्ने व्यवस्था पनि मिलाइएको छ। एजेन्सी
Loading...
