काठमाडौं, ४ असोज ।काठमाडौं उपत्यकाको पाँचवटा स्कुलमा शृंखलाबद्ध रूपमा विस्फोट गराउने योजनासहित कुकर बम राखिएको फेला परेको छ । जसमध्ये दुईवटा स्कुलमा बम विस्फोट भएको छ ।
बौद्धको दक्षिण ढोकास्थित मनकामना, आकाशदीप, राई स्कुल, ललितपुरको रेडियन्ट स्कुल र डल्लुस्थित कञ्चनजंगा स्कुलमा कुकुर बम राखिएको हो । कञ्चनजंघा स्कुल एमाले नेता प्रदीप नेपालले सञ्चालन गरेका हुन् । मनकामना र आकाशदीप स्कुलमा भने बम विस्फोट गराइएको छ । विस्फोटबाट स्कुलमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्र र योङ कम्युनिस्ट फोर्स लेखिएको पर्चा भेटिएकाले घटनामा उनीहरूकै संलग्नता रहेको अनुमान गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । दुवै संगठन नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) निकट रहेको बताइन्छ ।
मंगलबार बिहान ४, ५, ६ बजे एक÷एक घन्टाको फरकमा ती स्कुलमा कुकर बम राखी विस्फोट गराउने योजना रहेको थापाले बताए । स्कुलमा बम राख्नुको अहिलेसम्म कारण खुलिनसकेको र घटनाको पनि अहिलेसम्म कसैले जिम्मेवारी लिइसकेका छैनन् । बिहान बिहानै स्कुलमा बम विस्फोट भएको खबर ती स्कुलमा पढाउने विद्यार्थीका अभिभावक चिन्तित बनेका छन् । लामो समयपछि स्कुलहरूमा बम विस्फोट गराइएको हो ।
Loading...