जाजरकोटः जाजरकोटमा आफ्नै आमाको हत्या गर्ने एक दम्पतिलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको छ।
सक्ला–१ लैखमका वुद्धिबहादुर खत्री र उनकी पत्नी शर्मिला वली खत्रीलाई आफ्नै आमा देउमी खत्रीको हत्या गरेको अभियोगमा जिल्ला अदालत जाजरकोटले सर्वस्वसहित
जन्मकैदको सजायको फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश लिलाराज अधिकारीको एकल इजलासले मुलुकी ऐन अनुसार हत्यामा संलग्न दुवै जनालाई सर्वस्वसहित २० वर्ष ६ महिनाको जेल सजाय सुनाएको हो। देउमीका श्रीमान् लगवीर खत्री र जेठा छोरा बुहारीको पनि मृत्यु भइसकेको छ। देउमी जेठा छोराका दुईजना छोराछोरीहरु पालेर बस्दै आएकोमा उनीहरु अध्ययनका लागि जिल्ला बाहिर गएपछि एक्लै वस्दै आएकी थिइन्।
नलसिंहगाड जलविद्युत आयोजना निर्माणका लागि अधिग्रहणमा परेको देउमीका नाममा रहेको जग्गा आफनो नाँउमा नामसारी गराउनका लागि वुद्धिवहादुर र उनकी श्रीमतीले दबाब दिँदै आएका थिए। जग्गाको नामसारी गराउन देउमीले जेठा छोराका छोरा छोरीको सहमतिविना गर्न नमानेपछि उनीहरुले आमाको हत्या गर्ने योजनामा पुगेका थिए।
जग्गा नामसारीका लागि श्रीमती शर्मिलाले कि आमालाई मार कि म भीरवाट हामफालेर मर्छु भनेपछि आफुले आमाको हत्या गरेको वुद्धिवहादुरले अदालतको वयानमा स्वीकार गरेका थिए। आमाको हत्यापछि उनीहरुले घर नजिकैको बारीमा शबलाई गाडेका थिए। प्रहरीका अनुसार सुतिरहेकी आमालाई वुुद्धिबहादुरले बन्चरोले टाउकोमा हिर्काएका थिए। आमाको हत्या गरेपछि दुवै लोग्ने स्वास्नी मिलेर घिसार्दै नजिकैको मकैवारीमा एक दिन अघि ठिक्क पारी खनेको खाल्डोमा गाडेर माटोले पुरेका थिए।
अरुले थाहा पाउलान भनेर वुद्धिवहादुरका श्रीमान्, श्रीमतीले लास गाडेको ठाउँमाथि पिपलको वेर्नाे पनि रोपेका थिए। गत साउन २२ गते आमालाई मारेर मकैवारीमा गाडेका वुद्धिवहादुरले २३ गते विहान गाउँभरि आमा घरवाट हराएको हल्ला चलाएका थिए। आमालाई खोजिदिन भन्दै उनले प्रहरी चौकीमा निवेदन दिएका थिए। देउमीका भतिजा हरिबहादुर खत्रीले भदौ ६ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
घटना भएको तीन हप्तापछि प्रहरीले दुवै लोग्ने स्वास्नीलाई पक्राउ गरेको थियो। वुद्धिवहादुर जाजरकोट कारागारमा छन् भने शर्मिला साढे २ वर्षको छोराका साथमा वर्दियाको कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख हिक्मतबहादुर वोहराले वताए।
Loading...