Latest Updates :

१९ वर्षीय किशोरले प्रेममा खटपटपछि यसरी गरे एलिसाको विभत्स हत्या

SHARE THIS POST :


काठमाडौं, २७ कात्तिक । डेराबाट निस्किएकी २३ वर्षीया छोरी एलिसा नेपाली नफर्किएपछि उनको परिवार छोरी हराएको निवेदन लिएर कात्तिक १३ मा महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय टेकु पुग्यो । अघिल्लो दिन बिहान डेराबाट निस्किएकी छोरी ‘खोजी गरिपाउँ’ भन्ने निवेदन दिन प्रहरी कार्यालय पुगेका एलिसाको परिवारसँगै थिए १९ वर्षीय मुक्तिनाथ लामिछाने । एलिसाको परिवार आत्तिएको थियो, लामिछाने दुस्खी थिए । युवती हराएको निवेदन आइरहने भएकाले प्रहरीले यो केसलाई पनि खास ठानेन । र, फोटो लिएर खोजीका लागि सर्कुलर गर्छौं भन्दै उनीहरूलाई फिर्ता पठायो । निवेदन दिएकै दिन एलिसाको मोबाइलबाट उनका बुबालाई फोन आयो । छोरी फेला परिन् भनेर दंग परेर मोबाइल उठाएका उनी झसंग भए । छोरीको फोनबाट एक युवक बोलिरहेको थियो, त्यो पनि हिन्दीमा । उसले छोरी चाहिने भए १ करोड ५० लाख रुपैयाँ फिरौती माग्यो । उनले तत्काल प्रहरी महाशाखामा फोन गरेर यसबारे जानकारी दिए । यसपछि पनि परिवार प्रहरी कार्यालय पुग्यो । यसरी जाँदा हरेक पटक परिवारसँग लामिछानेसँगै हुन्थे । बोरामा फेला परिन् एलिसा कात्तिक २० मा भक्तपुर बोडेको सडक किनारामा बोराभित्र युवतीको शव फेला परेको सूचना आएलगत्तै महाशाखाको टोली घटनास्थल पुग्यो । टाउकोका गम्भीर चोट लागेको अवस्थामा फेला परेको शवको अनुमानित उमेर र हुलिया हराएकी भनिएकी एलिसासँग मिलेपछि महाशाखाले उनको परिवारलाई खबर गर्‍यो । खबर आएको तेस्रो दिन अस्पतालमा रहेको शव हेर्न पुगेका एलिसाको परिवारले शवको पहिचान गरे । त्यसको दोस्रो दिन एलिसाको हत्यामा संलग्न रहेको आरोपमा तिनै लामिछाने पक्राउ परे । हत्याको कारण देखियो सम्बन्धमा उब्जिएको शंका । अुनसन्धानमा संलग्न महाशाखाका प्रहरी अधिकारीका अनुसार ठिमी बस्ने लामिछाने र एलिसा बूढानीलकण्ठमा रहेको रिफ वाटर प्रोसेस नामको पानी फ्याक्ट्रीमा काम गर्थे । सँगै काम गर्ने क्रममा यी दुवैबीच प्रेम सम्बन्ध बन्यो । यो कुरा थाहा भए पनि उनी हराएदेखि नै खोजीमा युवतीको परिवारसँगै रहेकाले प्रहरीले तत्काल उनलाई अनुसन्धानको दायरामा नल्याई शंकाको घेरामा मात्रै राखेको थियो । ‘युवती हराएको दिनदेखि नै उनको खोजीमा खटिएर लामिछानेले प्रहरीलाई छक्याइरहेका थिए,’ महाशाखाका प्रवक्ता एसपी सहकुल थापाले भने, ‘उनले जति चलाखी गरे पनि जोगिन भने सकेनन् ।’ शंकाले लियो ज्यान आचरण ठीक नभएको भन्दै लामिछानेलाई कम्पनीले कामबाट निकालेपछि उनको एलिसासँग खटपट सुरु भएको थियो । यसबीचमा एलिसा अर्का युवकसँग निकट भइन् । आफू बेरोजगार भएपछि एलिसाले अर्कै युवकसँग सम्बन्ध गाँसेको भन्दै उनी मुर्मुरिएका थिए । तर, यसबारे एलिसालाई सोधेका थिएनन् । एसपी थापाका अनुसार यसबारे कुरा गर्न लामिछानेले कात्तिक १२ मा एलिसालाई फोन गरेर फिल्म हेर्न गोपीकृष्ण हल बोलाए । बिहान ९ बजे एलिसा हल पुगिन् । दुवैले चिया पिए र फिल्म हेर्नुको साटो बोडेमा रहेको लामिछानेको डेरामा गए । करिब १० बजे डेरामा पुगेपछि लामिछानेले चिया पकाएर एलिसालाई खुवाए । चिया खानेक्रममा उनले एलिसाको दोस्रो प्रेमीबारे कुरा निकालेपछि विवाद सुरु भयो । आफूलाई धोका दिएको भन्दै लामिछानेले एसिलालाई धम्क्याए पनि उनले शंका नगर भन्दै प्रतिवाद गरिन् । लामिछाने रिसले मुर्मुरिँदै कोठाबाट बाहिर निस्किए । केही समयमा उनी कोठामा फर्कंदा हातमा काठको मुंग्रो थियो । त्यसैले उनले एलिसाको प्राण नगएसम्म लगातार हानिरहे । दानाको बोरामा शव अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार लामिछानेले १२ बजे दिउँसो एलिसाको ज्याकेट, ब्याग, जुत्ता, रगत लागेको कोठाको कार्पेट बोरामा हालेर घरबाट करिब २ किलोमिटर पर रहेको नीलबाराही जंगलमा लागेर फाले । कपडा फाले पनि शव कोठामै थियो । उनी कोठाबाट निस्किएर एलिसाको मोबाइल लिएर मूलपानी हुँदै कोटेश्वरमा पुगे र त्यहींबाट एलिसाका बुबालाई फोन गरेर एलिसाको अपहरण गरेको भन्दै हिन्दी भाषामा १ करोड ५० लाख रुपैयाँ फिरौती रकम मागेका थिए । त्यसपछि उनी चाबहिल हुँदै बोडेको कोठामा फर्किएका थिए । कोठामा पुगेर उनले एलिसाको शव डेरामा रहेको कुखुराको दाना राख्ने प्लास्टिकको बोरामा प्याक गरे । राति १० बजे आफैंले बोकेर डेराबाट २ सय मिटर पर सडक किनारामा फालेर डेरामा फर्किए । घटनाको दोस्रो दिन उनी एलिसाको परिवारको सम्पर्कमा पुगे र उनीहरूसँगै प्रहरी कार्यालयमा ‘एलिसा हराएको निवेदन’ दिन गएका थिए । एलिसा हराउनु अगाडि लामिछानेसँग सम्पर्क भएको र उनको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल नम्बरको लोकेसन बोडेतिर देखिएपछि प्रहरीले उनलाई अनुसन्धानको घेरामा राखे पनि पक्राउ भने गरेको थिएन । अपहरणकारी बन्दै उनले निरन्तर पैसा मागेपछि प्रहरीले एलिसाको परिवारलाई फिरौती बुझाउन राजी छु भन्दै पैसा लिन उनलाई बोलाउन लगाएको थियो । उनी पैसा लिन आए । अपहरणकारीका रूपमा पैसा लिन आएको व्यक्ति लामिछाने रहेको खुलेपछि प्रहरीले पक्राउ गर्‍यो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger