Latest Updates :

राजा बिरेन्द्रको हत्याकाण्ड अझै किन रहस्यमय ?

SHARE THIS POST :
काठमाडौँ २० भदौ । श्री ५ पृथ्वी वीरविक्रम (राजा त्रिभुवनका पिता) राजा हुँदा राममणि आदी (आचार्य दीक्षित) संवत् १९६६ कात्तिक ४ गतेदेखि राजदरबारको सेवामा प्रवेश गरेका थिए । सुल्टोलाई उल्टो र उल्टो कुरालाई सुल्टो जस्तो बनाएर कतिपय कर्मचारी एवं चाकडीबाजहरूले राजालाई पनि ढाँट्थे भनेर उनले ‘प्राचीन संस्मरण’ पुस्तकमा लेखेका छन् ।

जंगबहादुर कुँवरले कोतपर्वमा आफ्ना प्रतिद्वन्द्वी र शत्रु मासेर शासनको बागडोर लिई तानाशाही चलाए । उनलाई प्रधानमन्त्री र प्रधानसेनापति बनाइएपछि विशेषाधिकार प्राप्त गरे । कुँवरको सट्टा ‘राणा’ लेख्ने अनुमति पाए । अन्ततः राणाहरूले १०४ वर्षसम्म राजाहरूलाई कैदीजस्तै बनाएर पिँजडाको सुगासरह व्यवहार गरे ।


त्यसैले शाहवंशका राजाहरूले २४० वर्ष शासन–प्रशासन चलाए भनेर लेख्ने इतिहासकारहरूले आफ्ना लेख र पुस्तकहरू संशोधन गर्नैपर्छ । दैनिक खर्चसमेत श्री ३ महाराजबाट आशा गर्नुपर्ने राजाहरूले तानाशाही चलाएर जनताको अधिकार कुण्ठित गरे भन्दै नयाँ पुस्तालाई भ्रामक, असत्य र आधारहीन कुरा सिकाउनु ठूलो अपराध हो ।



नेपाली सेना (त्यसबेला शाही नेपाली सेना) का तीन हजारभन्दा बढी सैनिकको घेरामा बसेका राजा वीरेन्द्र सपरिवार मारिएपछि तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शमशेर राणाले राजा (सेनाको परमाधिपति) जोगाउने काम सेनाको दायित्वमा पर्दैन भन्ने आशयको बक्तव्य दिएका छन् । तत्कालको सैनिक ऐनअनुसार मुलुक, मुकुट र मुलुकी (जनता) बचाउने जिम्मा सेनाकै थियो, तर सेनापतिले गलत अर्थ लाग्ने बक्तव्य दिँदा सर्वसाधारणले ‘यो के भन्न खोजेकोे ? ‘ भन्ने प्रश्न गरे । धेरैले प्रश्न गरे, ‘ऐन मौकामा सुरक्षा दिन नसक्ने ती पल्टन केका लागि राखिएका थिए त ? ‘

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको देहान्त (१८३१ साल माघ १ गते) भएपछि राजगद्दीमा बसेका प्रतापसिंह धेरै वर्ष राजा हुन पाएनन् । उनको निधनपछि युवराज रणबहादुर शाहले राज्यारोहण गरे । त्यसपछि देवर–भाउजू (राजेन्द्रलक्ष्मी र बहादुर शाह) बीच दुई गुट बनाएर दरबारभित्रका षड्यन्त्रकारीहरूले फाइदा लिन खोजे । काजी दामोदर पाँडेजस्ता देशभक्त काटिए । काजी वंशराज पाँडे काटिए । राजकुमार बहादुर शाह जेल गरे ।

अन्ततः उनको पनि रहस्यमय हत्या भयो । राजा रणबहादुर शाह ३१ वर्षकै उमेरमा काटिए । पुराना भारदार काजी नरसिंह गुरुङ र त्रिभुवन प्रधानलाई राजाका हत्यारा भन्दै काटियो । पृथ्वीपाल सेन, विदुर शाही, रणबहादुर सेन आदि मारिए । भीमसेन थापाले नरसिंह र त्रिभुवन प्रधानका छोरा–नातिहरूसमेतलाई विष्णुमतीछेउमा लगेर काट्न लगाएको इतिहासकार बाबुराम आचार्यले लेखेका छन् । (अब यस्तो कहिले नहोस्, पृष्ठ ६०–६१)

शत्रुको दमन गर्ने क्रममा पाल्पाली राजा पृथ्वीपाल सेनका साथमा तानसेनबाट आएका १८ जना अंगरक्षक पनि मारिए । विधिपूर्वक अन्तिम संस्कार गर्नसमेत नदिएर स्याल र गिद्दलाई लास खुवाइयो । राजा रणबहादुरका भाइ शेरबहादुर र चौतारा विदुर शाहीका पत्नी र छोरीहरू पोडेहरूलाई जिम्मा लगाए भीमसेन थापाले । उनका शत्रुहरूको सर्वस्वहरण भयो ।

आठ वर्षको छोरा गीर्वाणबाट अलग गराएर हेलम्बुमा थुनिएकी रानी राजराजेश्वरीसहित १४ जना सुसारेलाई साँखुको शालीनदीमा ज्युँदै पोलेर भीमसेन थापाले ठूलो पाप गरेको इतिहासकारले लेखेका छन् । ७७ जना पुरुष र १६ जना महिलालाई राजाका मान्छे भन्दै पोलेपछि भीमसेन थापा सर्वेसर्वा भए ।

सल्यानकी रानी विलासकुमारी (पृथ्वीनारायण शाहकी छोरी) लगायतका कैयन्का चलअचल सम्पत्ति खोसेर भीमसेन थापा झन् धनी हुन पुगे । चौतारा श्रीकृष्ण शाहको महल ‘बकस पाएर’ (कब्जा गरेर) भीमसेन त्यहाँ बस्न थाले भने उनका प्रिय पात्र रंगनाथलाई कान्छा चौतारा दलमर्दन शाहको महल बकस दिइयो ।

गीर्वाणको मृत्युपछि बालक राजा राजेन्द्र राजगद्दीमा राखिए । राजकुमार देवेन्द्रविक्रम शाहको मृत्युपछि भीमसेन थापाको पतन सुरु भयो । देवेन्द्रलाई विष खुवाएर मारेको अभियोगमा उनी थुनिए । अन्त्यमा जेलमै उनले आत्महत्या गरे । आफ्नै मामा माथवरसिंह थापाको हत्या गरेर रानी राज्यलक्ष्मीका प्रिय बनेका जंगबहादुर कप्तानबाट पदोन्नति हुँदै प्रधानमन्त्री र प्रधानसेनापति भए । त्यहाँबाट सुरु भयो, राणा शासन ।

इतिहास घटना–दुर्घटनाहरूको मुण्डमाला जस्तो हुन्छ र तर पलपलमा षड्यन्त्रका चरण पार गर्दै कालचक्र घुमिरहन्छ । जंगबहादुरले शासन सत्ता हातमा लिएको झन्डै एक सय वर्षपछि जन्म लिएका राजा वीरेन्द्र पनि षड्यन्त्रकै सिकार भए । उनकै जेठा छोरा दीपेन्द्र शाह र श्री ३ मोहन शमशेरकी पनातिनी (पशुपति शमशेरकी छोरी देवयानी) बीचको प्रेमकथालाई राजा वीरेन्द्रको हत्याको पृष्ठभूमि नमान्नेहरू धेरै भेटिन्छन् ।

नारायणहिटी हत्याकाण्डका खलनायक भन्दै चीनका प्राध्यापक वाङ चुङले ‘नेपालको सुरक्षात्मक रणनीति’ पुस्तक (पृष्ठ १९) मार्फत अमेरिका र भारतीय गुप्तचर संस्थाको ‘खुनी हात’ रहेको खुलासा गरेका छन् भने पूर्व परराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोलाले २०६७ सालमा प्रकाशित लेखमा सोही कुराको पुष्टि गरेका छन् । दीपेन्द्र शाहको टाउकोमा सबै दोष थोपरेर गम्भीर अन्तर्राष्ट्रिय षड्यन्त्रबाट जनताको ध्यान अन्यत्रै मोड्न खोजिएको तर्क गर्नेहरू पनि धेरै भेटिन्छन् ।

राजा महेन्द्र परलोक भएपछि २०२८ साल माघ १७ गते २६ वर्षको उमेरमा राजा भएका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव ल्याए । ११६ राष्ट्रले त्यसको समर्थन गरे पनि भारतले समर्थन गरेन । २०३१ साल फागुन १३ गते शुभराज्याभिषेकको भोलिपल्ट ल्याइएको सो प्रस्तावका कारण राजा वीरेन्द्रलाई भारतले आँखाको कसिंगर नै ठान्न थाल्यो ।

राजाले २०३० साल मंसिर २२ देखि २९ गतेसम्म चीन भ्रमण गरेदेखि नै भारत सशंकित रहेको पाइन्छ । चीनका नेताहरू तुङ पी उ र चाउ–एन–लाईको निमन्त्रणामा भएको भ्रमणमा राजालाई भव्य स्वागत गरिएको थियो । मंसिर २३ गते ‘बेइजिङको ‘ग्रेट हल अफ द पिपुल’ गुन्जयमान भयो, राजाको सारगर्भित भाषणले । चीनका अखबारहरूले त्यसलाई ठूलो महत्त्व दिए ।

चीनसँग ‘नजिकिएको’ भन्दै भारतीयहरू राजा वीरेन्द्रप्रति सशंकित भए । २०२९ साल फागुन २४ गते राजाले दिल्लीमा असंलग्न राष्ट्रहरूको सातौँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै सार्वभौमसत्ता र स्वतन्त्रता सबै राष्ट्रलाई उत्तिकै प्यारो हुन्छ भन्ने धारणा व्यक्त गरे ।

नेपालका राजा नेपालीहरूबीचमै अप्रिय छन् भन्ने देखाउन भारतीय गुप्तचर संस्थाका अधिकृत र केही भारतीय नेताहरूको निर्देशनमा दिल्लीमा बसेका केही नेपाली वामपन्थीहरूले राजा वीरेन्द्रलाई कालो झन्डा देखाए, तीमध्ये एकजना भारतको आशीर्वादमा नेपालको प्रधानमन्त्री बन्न पुगे । त्यसबेला ‘शान्ति क्षेत्र प्रस्ताव चाहिँदैन’ भन्ने प्रदर्शन र नारा लगाउनेहरू मोहनविक्रम सिंहको पार्टीको कार्यकर्ता थिए भने कसको इशारामा त्यो सबै भएको थियो भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।

सोही साल चैत ६ गते चीनका राष्ट्रपति ली–स्यान–न्यान काठमाडौं आए । २०४० साल वैशाख १९ गते फ्रान्सका राष्ट्रपति फ्रास्वाँ मितेराँले नेपाल भ्रमण गरे । त्यसको दुई वर्षपछि २०४२ वैशाख १९ गते मालदिभ्सका राष्ट्रपति मौमुन अब्दुल गैयुव राजकीय भ्रमणमा आए । सोही साल बंगलादेशमा सम्पन्न सार्कको प्रथम शिखर सम्मेलनलाई राजा वीरेन्द्रले सम्बोधन गर्दा कतिपय सञ्चारमाध्यमले दक्षिण एसियामा यस्ता प्रखर राजनेता पनि रहेछन् भनेर प्रशंसा गरे ।

२०४२ फागुन ६ गते ब्रिटेनकी महारानी एलिजाबेथले दोस्रोपटक नेपाल भ्रमण गरिन् । त्यसअघि राजा महेन्द्रका पालामा उनी नेपाल आएकी थिइन् । २०४३ साल साउन ६ गते भारतीय राष्ट्रपति ज्ञानी जेलसिंह नेपाल आए । ती भ्रमण कूटनीतिक सफलताका केही उदाहरण हुन् ।

धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुख नेपाल आए, २०२८ देखि २०५८ सालसम्म लामो तीसबर्से कालखण्डमा । नेपालका राजा र प्रधानमन्त्रीहरूले सम्मान पाएका छन् अरू राष्ट्रमा पनि । शान्ति, स्थिरता र प्रगतिको लागि चालिएका असल कामहरूप्रति दलहरू सकारात्मक नभए पनि राजाले आफ्नो कर्तव्य बिर्सेनन् ।

२०४७ सालको संविधानमा नेपाली नागरिकता प्राप्त गर्न नेपाली हुनैपर्ने प्रावधान थियो । जलस्रोतलगायत प्राकृतिक स्रोतसाधनबारे अन्तिम निर्णय गर्न दुवै संसद् (राष्ट्रिय सभा र प्रतिनिधिसभा) बाट दुईतिहाई सदस्यले अनुमोदन गर्नुपर्ने व्यवस्था गरिएको थियो र नेपालको राष्ट्राध्यक्ष सनातन हिन्दु धर्मावलम्बी हुनुपर्ने उल्लेख थियो । यी सबै कुरा समाप्त नगरेसम्म नेपालमा विदेशी (भारतीय र पश्चिमा शक्ति) हरूको दबाब–प्रभाव सम्भव थिएन ।

 यही कारणले राष्ट्रवादीहरूको उन्मूलन गर्ने प्रायोजित खेल सुरु भयो । गाउँगाउँमा कथित जनयुद्धका नाममा माओवादीले देशभक्त र राष्ट्रवादीलाई छानीछानी मारे । वीरगन्जका पूर्व मेयर र पत्रकार गोपाल गिरी, कपिलवस्तुका दानबहादुर श्रीवास्तव, अर्घाखाँचीका शोभाखर भुसाल, इलामका चन्द्रकान्त भट्टराई, सिराहाका चन्द्रनारायण यादव (मन्त्री सीतादेवी यादवका पति), सशस्त्र प्रहरीका आईजीपी कृष्णमोहन श्रेष्ठ र उनकी पत्नी नुडुपलगायतका हजारौँ राजनीतिकर्मी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, सैनिक, प्रहरी, सशस्त्र प्रहरी, उद्योगपति, व्यापारी, सर्वसाधारण राष्ट्रघाती थिएनन् ।

माओवादीहरू आफैँ अपराधी भएकाले जघन्य अपराधी र राष्ट्रघातीहरू उनीहरूका हितैषी भए । राजा वीरेन्द्र जस्ता सरल राजनेतालाई बाँचुञ्जेल माओवादीले कदर गरेनन्, तर उनी मारिएपछि डा. बाबुराम भट्टराईले पृथ्वीनारायणदेखि राजा वीरेन्द्रसम्मका राजाहरूले राष्ट्रियता बचाउन योगदान गरेको भन्दै लेख लेखेर तारिफ गरे । यो गोहीको आँसु मात्र थियो ।

 साभार -मिडिया एनपी
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger