Latest Updates :

बदला लीन नक्कली कथा बनाई प्रहरीमा नक्कली उजुरी ,यसरी भयो पर्दाफास।

SHARE THIS POST :
हेर्दा हेर्दै खस्यो बस बदला लिन प्रहरीमा नक्कली जाहेरी युवती बेचेको नक्कली जाहेरी प्रहरीमा परेपछि एक युवकले २४ दिन हिरासतमा बिताए - केपी ढुंगाना, काठमाडौं भाद्र १५, २०७३- महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका डीएसपी रवीन्द्र रेग्मी फाइल पल्टाउन व्यस्त थिए । एक युवती नमस्कार गर्दै कोठामा छिरिन् । उनले इसाराले सोफामा बस्न भने र आफ्नै काममा लागे । बस्न असहज मानेको युवतीको भावभंगीमा देखेपछि रेग्मीले फाइल थन्क्याए र सोधे, भन्नुस्, के काम थियो ?’  ‘म पाँच वर्षअघि दिल्लीमा बेचिएकी थिएँ, मलाई बेच्नेविरुद्ध उजुरी दिन आएकी ।’ रेग्मीले घटना विवरण टिपाउन आफ्ना सहयोगीलाई बोलाए ।

युवतीले आफू बेचिएको कहानी सुनाउन थालिन्, ‘पाँच वर्षअघि राजकुमार भुज भन्ने व्यक्तिले मलाई सुनौलीमा कपडा किन्न जाऊँ भनेपछि उनीसँगै हिँडे । दिउँसो ३ बजे कलंकीमा गएर भैरहवा जाने बस चढ्यौं । बेलुका भैरहवा पुगेपछि रिक्सामा सुनौली पुगेर एक होटलमा बस्यौं । होटलमा उनले चिसो खाऊँ भने । चिसो पिएको केही समयपछि मलाई के भयो, थाहै भएन । आँखा खुल्दा म दिल्लीको कुनै कोठामा रहेछु । मलाई उसले साढे तीन लाखमा बेचेको रहेछ ।’ ती युवतीको बयानअनुसार पाँच वर्षसम्म कोठीमा यौनकर्मीका रूपमा काम गरेपछि बूढी भई भन्दै कोठी सञ्चालिकाले उनलाई निकालेपछि उनी दिल्ली, गोरखपुर, रक्सौल हुँदै काठमाडौं आएकी थिइन् । बिक्री गर्ने व्यक्तिको ठेगाना थियो रूपन्देही, पठौली गाविस–५ । ‘त्यसलाई चिन्नुहुन्छ ?’ प्रहरीको जिज्ञासामा ती युवतीले टाउको हल्लाएर चिन्छु भन्ने संकेत दिइन् । परिसरले रूपन्देहीको प्रहरीलाई हुलिया र ठेगानासहित पक्राउ गरी दाखिला गराउन तत्काल पत्र पठायो । इलाका प्रहरी कार्यालय धगधगीले १२ गते भुजलाई पक्राउ गरेर काठमाडौं पठायो । ‘पहिचानका लागि प्रहरीले भुजसँगै अन्य ४ जनालाई एउटा कोठामा उभ्याएको थियो,’ डीएसपी रेग्मीले सुनाए, ‘उनले भुजको कठालो समातिन् ।’ पीडित युवतीबाट बेचबिखनमा संलग्न दाबी गरिएका व्यक्तिको पहिचान भएपछि प्रहरीले मिसिल उठाएर मानव बेचबिखनको अभियोगमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर हिरासतमा राख्दै अनुसन्धान अगाडि बढायो । पक्राउको दोस्रो दिन प्रहरीले भुजको बयान सुरु गर्‍यो । बयानमा उनले युवती पनि नचिन्ने र आफूले कसैलाई नबेचेको दाबी गरिरहे ।  ‘अनि, उनले किन तिमीलाई नै आरोप लगाएको त ?’ प्रहरीले सोधे ।  ‘खै, त्यो मेरो काका पशुपति भुजलाई थाहा होला,’ उनको जवाफ हुन्थ्यो । प्रहरीले बारम्बार बयान लिँदासमेत उनले आरोप स्वीकार गरेनन् । तर नयाँ व्यक्ति पशुपतिको नाम जोडिएपछि प्रहरीले युवतीको जाहेरी पुन: पढ्यो । ३ बजे कलंकीबाट बस चढेको बयानका आधारमा कलंकीमा बुझ्दा अधिकांश समय २ बजे बस छुट्ने गरेको सूचना, बेलुका भैरहवा पुगेकी युवती एक युवकसँग बिनारोकतोक सहजै सुनौली पुगेको अनि सुनौलीबाट बेहोसै भएर एक्कासि दिल्ली पुगेको विवरणमा प्रहरीलाई शंका लाग्यो । उनी दिल्ली हुँदै काठमाडौं आइपुग्दाको यात्रा रुटमा पनि प्रहरीलाई शंका लाग्यो । दिल्लीबाट सिधै भैरहवा नआएर गोरखपुर हुँदै पुन: किन रक्सौल ? शंकाकै बीचमा प्रहरीले राजकुमारका काका पशुपतिमाथि अनुसन्धान सुरु गर्‍यो । उनको सम्पर्कमा रहेकाहरूको खोजीका क्रममा जाहेरीकर्ताका दाइ देवराज पुडासैनीसँग उनको नियमित सम्पर्क देखिएपछि प्रहरीले पशुपतिलाई सोधपुछका लागि बोलायो । ‘सोधपुछका क्रममा १० वर्ष अघिदेखिको साथी भनिए पनि २ महिनादेखि मात्रै बाक्लो मोबाइल सम्पर्क देखियो,’ डीएसपी रेग्मीले भने, ‘त्यसले शंका थप बढायो ।’ राजकुमार अनुसन्धानका लागि २४ दिनदेखि प्रहरी हिरासतमै थिए ।  प्रहरीले अनुसन्धानलाई देवराज केन्द्रित गरेसँगै उनी सम्पर्कविहीन भए । उनको खोजीका क्रममा प्रहरी देवराजका छोरा र श्रीमतीसम्म पुग्यो । उनीहरूबाट खुलेको घटना विवरणले प्रहरी छ्यांगै भयो । ... पशुपति र राजकुमार दुवै म्यानपावर कम्पनीका स्थानीय एजेन्ट थिए । राजकुमारले मलेसिया, कतार जान चाहने युवा खोजेर पैसा र राहदानी काका पशुपतिलाई दिँदै आएका थिए । राजकुमारले पशुपतिलाई दुबई जान चाहने ३ युवाको राहदानी र भिसाबापतको २ लाख २५ हजार रुपैयाँ दिएसँगै उनी सम्पर्कविहीन भए । पैसा र राहदानी बुझाउनेहरूले कि फिर्ता देऊ नत्र प्रहरीमा उजुरी गर्छु भन्दै धम्क्याएपछि उनले ऋण खोजेर पैसा फिर्ता गरिदिए । राजकुमारका अनुसार २०६७ मा आफन्तकोमा पशुपति भेटिएपछि परिवारको सहमतिमा १ लाख १० हजारको तमसुक बन्यो । तर उनी काठमाडौं फर्किएपछि काठमाडौं जिल्ला अदालतमा करकापमा कागज गराएको भन्दै कागज बदरको मुद्दा हाले । अदालतले राजकुमारको पक्षमा फैसला गर्‍यो । पशुपति पुनरावेदन हुँदै सर्वोच्च पुगे पनि फैसला उनको पक्षमा आएन ।  राजकुमारले बुझाएको पैसाको साँवा–ब्याज गरी ४ लाख १ हजार कायम भयो र रूपन्देहीमा रहेको पशुपतिको चार कट्ठा जग्गा लिलाम गरी राजकुमारलाई पैसा भराउने आदेश दियो । अनुसन्धानका क्रममा प्रहरीले पशुपतिलाई पक्राउ गरी सार्वजनिक अपराधको अभियोगमा हिरासतमै राखेको थियो । सोमबार सम्पर्कविहीन भएका देवराज फेला परे भने मंगलबार उजुरीकर्ता युवती ।  यी तीनै जनाको बयानबाट खुल्यो, मानव बेचबिखनको अनुसन्धानमा राजकुमार काठमाडौं प्रहरीको हिरासतमा पर्नुको मूल कारण त्यही लेनदेन विवाद थियो ।  अनुसन्धानमा संलग्न अधिकारीका अनुसार बुहारी मारेको अभियोग प्रमाणित भएसँगै ९ वर्ष केन्द्रीय कारागारमा बसेका देवराज, पशुपतिको सम्पर्कमा पुगेपछि राजकुमारलाई गम्भीर अपराधमा जेल पठाउने योजना बनेको थियो । देवराज जेठमा कारागारमुक्त भएपछि पशुपतिको गाडी चलाउन थालेका थिए । अपराधबारे जानकार देवराजले नै पशुपतिलाई मानव बेचबिखनको मुद्दा लाग्यो भने बलियो हुने उपाय सुझाउँदै युवती आफैंले खोज्ने जिम्मेवारी लिए र बेचिएकी युवतीका लागि सुशीला पुडासैनी शाक्यलाई राजी बनाए । ‘केन्द्रीय कारागारमा हुँदा सुशीला लागूऔषधको अभियोगका कैदीलाई भेट्न आउने क्रममा चिनजान भएको थियो,’ देवराजले बयानमा भनेका छन्, ‘उनलाई चार लाख दिने सर्तमा उजुरीका लागि राजी गराएँ ।’ युवती फेला परेपछि कलंकीमा रहेको पशुपतिको घरमा योजना बन्यो ।

योजना सफल भए सुशीलाले ४ लाख र देवराजले चलाइरहेको पशुपतिको गाडी पाउने भए । योजनाअनुसार सुशीलाले प्रहरीमा उजुरी दिइन् । राजकुमार खोज्न उनको दाइ बनेका देवराज प्रहरीसँगै रूपन्देही गए । प्रहरीसँगै काठमाडौं आउने क्रममा कलंकीमा राजकुमारको फोटो खिचेर सुशीलालाई देखाए । सुशीलाले भोलिपल्ट तस्बिरको आधारमा सहजै राजकुमार चिनिन् ।  घटनामा जोडिएका पीडितसहित तीनै जनाको बयानमा राजकुमारमाथिको जाहेरी नक्कली रहेको देखिएपछि प्रहरीले उनलाई हिरासतमुक्त गरे पनि अनुसन्धानमुक्त गरेको छैन । उनी काठमाडौंमा बसेर दैनिक तारेखमा प्रहरी कार्यालय धाइरहेका छन् । मानव बेचबिखनमा जाहेरी दर्ता गरी अदालतबाट म्याद लिएको प्रहरी मुद्दा प्रक्रिया कसरी टुंग्याउने छलफलको चरणमा छ । परिसरका एसएसपी विक्रम थापाले अदालतमा मुद्दा पेस भएको हकमा झूटो जाहेरीकर्तालाई अदालतबाटै सजाय हुने प्रावधान भए पनि प्रहरी अनुसन्धानमै रहेको घटनाबारे भने कानुन प्रस्ट नभएकाले मुद्दाबारे छलफल भइरहेको बताए । मंगलबार बेलुका राजकुमारले फोनमा कान्तिपुरसँग दु:खेसो पोख्दै भने, ‘आफ्नै काकाले साह्रै दु:ख दिए, जीवन झन्डै बर्बाद बनाए ।’

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger